Thursday 24 December 2009

मेसिनसहित नक्कली नोट बरामद


काठमाडौ, २०६६ पुस ९ - नक्कली नोट र मेसिन सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । ललितपुरको ठैब ८ बाट प्रहरीले भारतीय नागरिक जहाङगिर सेख हकिकतलाई महानगरीय प्रहरी परिसर ललितपुरले बिहीबार पक्राउ गरेको हो ।ठैबको मुख्य सडकसँगै जोडिएको घरमा डेरा गरेर बस्दै आएका हकिकतसहित २ लाख ९१ हजार नेपाली र ५ हजार भारतीय नोट बरामद गरेको छ । नोट बनाउने दुईवटा फोटोकपी रंगीन मेसिन, क्यानोन कम्पनीको पि्रन्टर मेसिन, पैसा बनाउन प्रयोग गरिने मसिनहरू, नक्कली पेस्तोल बरामद गरेको छ । नोट कागजमा फोटोकपी गरिएको तर नकाटिएको अवस्थामा फेला परेका थिए ।स्थानीयवासीले बुधबार घटनाबारे सूचना दिए पनि प्रहरीले बिहीबार बिहानमात्र त्यहाँ छापा मारेको हो । स्थानीय कृष्णकुमार श्रेष्ठको चार तले घरको तेस्रो तलामा २५ सय रुपैयाँ भाडा तिरेर बसेका थिए । घरबेटी श्रेष्ठले घर ढलानको काम गर्ने गरेको बताउँदै ६ महिना अघिदेखि बस्दै आएको उनले बताए । 'घरको काम गर्छु भनेर बसेको थियो,' उनले भने, 'नक्कली पैसा बनाउँछ भन्ने थाहा थिएन ।' बिहान घरमा प्रहरी पुगेपछि मात्रै आफूले थाहा पाएको कान्तिपुरसँग बताए । 'हाम्रो परिवार गाउँको घरमा बस्ने भएकाले यता भाडामा बसेकाले के गर्छन् थाहा भएन,' उनले भने, 'प्रहरी आएर घर खानतलासी लिँदैछ भनेपछि थाहा पाएँ ।' सक्कली पैसालाई कागजमा टाँसेर दुवैतिर फोटोकपी गर्ने गरेको पाइएको अनुसन्धानमा खटिएका प्रहरीले जानकारी दिए । बिहान बाडेगाउँको प्रहरी पुगेको थियो । महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक विक्रमसिंह थापा बिहान नौ बजेतिर घटनास्थल पुगेका थिए । उनले नक्कली पैसाको कारोबारमा अन्यको पनि संलग्नता हुनसक्ने उल्लेख गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिए । 'उसले एक्लै छु भने पनि ठूलो कारोबारमा भएकाले अन्य पनि संलग्न हुनसक्ने देखिएको छ,' थापाले भने, 'एक्लैले यत्रो कारोबार गर्न सक्दैन ।' उनले हकिकतको प्रारम्भिक बयान अनुसार केही स्थानमा छापा मारिएको तर केही फेला नपरेको जानकारी दिए । तर उनले अन्य व्यक्तिको खोजी तीव्रस्तरमा भएको जानकारी गराए । बिहान ११ बजे कोठाको अनुसन्धान तथा मुचुल्का उठाएर अभियुक्त हकिकतलाई परिसर ल्याउन खोज्दा स्थानीयवासीले उनीमाथि हातपात गरेका थिए । स्थानीयको ठूलो भीडबाट उनलाई जोगाएर भ्यानमा हाल्न प्रहरीलाई मुस्किल परेको थियो । अभियुक्तमाथि हातपात भएपछि प्रहरीले भीड नियन्त्रण गर्न सामान्य लाठी हानेको थियो । प्रदर्शनकारीको ढुंगा लागेर महानगरीय परिसरका एक जवान घाइते भएका छन् । अभियुक्त हकिकतलाई जोगाउन खोज्दा जवान टपबहादुर केसीको दायाँ आँखाको आँखीभौंमा चोट लागेको थियो । उनको पाटन अस्पतालमा उपचार गरिएको छ । स्थानीयवासीले अभियुक्तलाई त्यहीँ कारबाही गर्नुपर्ने भन्दै विरोध जनाएका थिए । 'हाम्रो ठाउँमा बसेर कानुन विरोधी काम गरेपछि हामीले नै कारबाही गर्न पाउनुपर्छ,' स्थानीय शैलेश महर्जनले भने, 'यस्ता मान्छेका कारण सिंगो ठाउँको बदनाम हुने गरेको छ ।'भाडा तिरेर कोठा बस्ने मान्छेको व्यवहारमाथि निगरानी गर्नुपर्ने उनको भनाइ छ । 'घर प्लास्टरको काम गर्छु भनेर नक्कली नोट बनाउँदो रहेछ,' उनले भने ।

0 comments:

Post a Comment

 

  © 2009 लिम्बू संसार //लेख रचना

True Contemplation Blogger Template by M Shodiq Mustika